सुनसरी, साउन ११।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि भएको झडपमा एक जनाको मृत्यु भएको स्थानीयले दाबी गरेका छन्। घटनामा अन्य केही व्यक्ति घाइते भएको पनि बताइएको छ।
स्थानीयका अनुसार सोमबारी पूजाको तयारीका क्रममा मन्दिर परिसरमा भजन तथा डिजे सञ्चालन भइरहेको बेला केही युवाबीच विवाद सुरु भएको थियो। त्यसपछि झडप चर्किँदै जाँदा दुवै पक्षबीच तनाव सिर्जना भएको र स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मी तथा स्थानीयबीच समेत धकेलाधकेल भएको जनाइएको छ।
प्रत्यक्षदर्शीहरूको भनाइअनुसार घटनाका क्रममा गोली चलेको थियो। गोली लागेर करिब १० जना घाइते भएको दाबी गरिएको छ। घाइतेमध्ये ओमप्रकाश मेहताको मृत्यु भएको स्थानीयले बताएका छन् भने अन्य गम्भीर घाइतेलाई विराटनगरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
घटनापछि केही समयका लागि क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको स्थानीयको भनाइ छ। यद्यपि, गोली कसले चलायो र मृत्युको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन। जिल्ला प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
यसैबीच, हिन्दू सम्राट सेनाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा प्रशासनको भूमिकाबारे स्पष्ट जवाफ माग गर्दै विरोध कार्यक्रमको घोषणा गरेको छ।
नोट: घटनासम्बन्धी मृत्यु, घाइतेको संख्या तथा गोली प्रहारबारे सार्वजनिक भएका विवरणहरू स्थानीय दाबीमा आधारित छन्। आधिकारिक निकायबाट सबै तथ्य पुष्टि हुन बाँकी रहेकाले अनुसन्धानको निष्कर्ष आउन बाँकी छ।