पर्सा, साउन ९ — पर्साको पकहाँमैनपुर गाउँपालिकास्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजित बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, स्नातक तहसम्म अध्ययन–अध्यापन सञ्चालन तथा आधुनिक शिक्षण प्रणाली विस्तारका विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।
छलफलमा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, दक्ष शिक्षक तथा आवश्यक जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री सिकाइ वातावरण निर्माण र विद्यार्थीलाई गुणस्तरीय तथा प्रतिस्पर्धी शिक्षा उपलब्ध गराउने उपायबारे विस्तृत विमर्श गरिएको थियो।
कार्यक्रमले विद्यालयमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यम (English Medium) बाट पठनपाठन सुरु गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउने सहमति समेत गरेको छ। स्थानीय स्तरमै आधुनिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने उद्देश्य रहेको सहभागीहरूको भनाइ थियो।
यस्तै, विद्यालयमा भविष्यमा स्नातक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने दीर्घकालीन योजना तयार गरी आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय अघि बढाउने विषयमा पनि छलफल भएको छ।
वक्ताहरूले विद्यालयको समग्र विकासका लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षको साझा प्रयासबाट मात्रै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सकिने धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले श्री रामचरित्र भगत माध्यमिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री, अनुशासित र उत्कृष्ट शिक्षाको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता जनाएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुरेश मेहताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयको दीर्घकालीन शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको विस्तार र नमुना विद्यालय निर्माणको अभियानलाई थप गति मिल्ने विश्वास व्यक्त गरिएको छ।