वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित बसपार्क क्षेत्रमा रहेको एक थ्री स्टार होटलमा छापा मार्न पुगेको प्रहरी टोलीमाथि हातपात तथा झडप भएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
भाद्र १३ गते शनिबार होटलमा छापा मार्ने क्रममा प्रहरी र होटलमा रहेका केही व्यक्तिबीच विवाद बढ्दै गएपछि झडप भएको बताइएको छ। घटनामा केही प्रहरी कर्मचारी घाइते भएको प्रहरी स्रोतको दाबी छ।
घटनापछि वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले ९ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ६ जनालाई सामान्य जिम्मा–जमानीमा रिहा गरिएको जनाइएको छ।
तर झडपमा प्रत्यक्ष रूपमा संलग्न रहेको आरोप लागेका ३ जना भने अझै प्रहरी नियन्त्रणमा रहेको स्रोतले जनाएको छ। उनीहरूमाथि प्रहरीको काममा अवरोध तथा अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढाइएको बताइएको छ।
यसैबीच, नियन्त्रणमा रहेका तीन जनालाई छुटाउन विभिन्न राजनीतिक तथा अन्य तहबाट दबाब र चलखेल भइरहेको चर्चा समेत वीरगञ्जमा सुरु भएको छ। यद्यपि, यस्तो दबाब वा राजनीतिक हस्तक्षेप भएको विषयमा आधिकारिक पुष्टि भने भएको छैन।
प्रहरीमाथि नै हातपात भएको घटनामा आरोपितलाई कानुनी प्रक्रियाबाट उन्मुक्ति दिने प्रयास भए त्यसले प्रहरीको मनोबलसँगै कानुन कार्यान्वयनको विश्वसनीयतामाथि समेत प्रश्न उठाउने देखिन्छ। घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनअनुसार कारबाही हुनुपर्ने आवाज उठिरहेको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासँग आधिकारिक धारणा लिन सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन सकेन। घटनाबारे प्रहरीको औपचारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी छ।