वीरगञ्ज, साउन ७ — त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव (त्रि.वि. दिवस) को अवसरमा पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु, पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य रामाकान्त प्रसाद चौरसिया, समानुपातिक सांसद सुनिता कुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता अकलेश कुमार साह तथा रामेश्वर साह लगायतको टोलीले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, वीरगञ्ज नर्सिङ क्याम्पसको स्थलगत अवलोकन गरेका छन्।

अवलोकनका क्रममा क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक वातावरण, विद्यार्थी तथा कर्मचारीले भोगिरहेका समस्या र आवश्यकताबारे जानकारी लिइएको थियो। क्याम्पस प्रशासनसँग छलफल गर्दै टोलीले शिक्षा र स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित यस संस्थाको समग्र विकासका लागि आवश्यक पहल गरिने विश्वास दिलाएको जनाएको छ।

अवलोकनपछि सांसदहरूले क्याम्पसमा देखिएका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय, त्रिभुवन विश्वविद्यालय तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी परिणाममुखी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनीहरूले गुणस्तरीय नर्सिङ शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकास, शैक्षिक स्रोत–साधनको व्यवस्थापन तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा आफूहरू सकारात्मक रूपमा लाग्ने बताएका छन्। साथै, वीरगञ्ज नर्सिङ क्याम्पसलाई थप व्यवस्थित, सुविधासम्पन्न र प्रभावकारी शैक्षिक संस्थाका रूपमा विकास गर्न आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।