वीरगञ्ज, साउन ६ — पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्त ले आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्ष जनभेटघाट तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिएका छन्।

यसक्रममा उनले वीरगञ्ज महानगरपालिका वडा नं. १५ को लक्षमाणवा, भेडियाही तथा वडा नं. १६ को नगवा र इनर्वा क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका छन्। कार्यक्रममा स्थानीय नागरिकहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ, पूर्वाधार विकास लगायतका विभिन्न स्थानीय समस्या, सुझाव र अपेक्षाहरू सांसद पन्तसमक्ष राखेका थिए।

सांसद पन्तले नागरिकका गुनासा, सुझाव र आवश्यकताहरूलाई गम्भीरतापूर्वक सुनेर जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखी क्षेत्रको समग्र विकास र समृद्धिका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले जनप्रतिनिधिको प्रमुख दायित्व जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या बुझ्नु र समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नु रहेको उल्लेख गर्दै यस्ता जनसंवाद कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए।

स्थानीयवासीहरूले पनि जनप्रतिनिधि प्रत्यक्ष रूपमा आफ्नै बस्तीमा आएर समस्या सुनेकोमा खुसी व्यक्त गर्दै विकास निर्माणका कामलाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्।
