वीरगञ्ज, साउन ५ — पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न बस्ती तथा सार्वजनिक संस्थाहरूको स्थलगत अवलोकन गर्दै स्थानीयवासीसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभएको छ।

सोमबार सांसद पन्त हरपतगञ्ज, सौराहा, भवानीपुर, पटेलनगर, परवानीपुर र ताजपुर पुगेर स्थानीय नागरिकसँग भेटघाट गर्नुभएको हो। भ्रमणका क्रममा उहाँले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, स्वास्थ्य चौकी लगायतका सार्वजनिक संस्थाको निरीक्षण गर्दै सेवा प्रवाह, पूर्वाधार र स्थानीय आवश्यकताबारे जानकारी लिनुभयो।

स्थानीयसँगको छलफलमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य विकास निर्माणसँग सम्बन्धित विषयमा नागरिकहरूले आफ्ना समस्या, सुझाव र अपेक्षाहरू राखेका थिए। सांसद पन्तले ती विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर विकासका योजनाहरू अघि बढाइने उल्लेख गर्दै निर्वाचन क्षेत्रको समग्र विकास, सुशासन र समृद्धिका लागि आफू निरन्तर सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले पनि सांसद प्रत्यक्ष गाउँमा पुगेर जनगुनासो सुनेकोप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्।