पर्सा। पर्साको पकहाँमैनपुर गाउँपालिका–२ का वडाध्यक्ष मुकुट प्रसाद चौहानमाथि कार्यालयीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको आरोप स्थानीयवासीले लगाएका छन्। कार्यालय समयमा नियमित रूपमा उपस्थित नहुने, सेवाग्राहीलाई समयमै सेवा उपलब्ध नगराउने तथा जनताको समस्याप्रति उदासीन बनेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढ्दै गएको बताइएको छ।
स्थानीयका अनुसार वडाध्यक्ष चौहान कार्यालयमा केही समय मात्र उपस्थित भएर बाँकी समय व्यक्तिगत काममा व्यस्त रहने गरेका कारण सामान्य सिफारिस, प्रमाणपत्र तथा अन्य प्रशासनिक सेवा लिन आउने नागरिकले घण्टौँ कुर्नुपर्ने र पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था सिर्जना भएको छ। जनप्रतिनिधिको भूमिकाभन्दा व्यक्तिगत कामलाई प्राथमिकता दिएको आरोप पनि उनीहरूमाझ सुनिन थालेको छ।
नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, “कार्यालयमा केहीबेर आएर हाजिरी गरेजस्तो गर्ने, त्यसपछि दिनभर सम्पर्कविहीन हुने अवस्था सामान्य भइसकेको छ। जनताले समस्या लिएर जाँदा पनि खासै चासो देखिँदैन।”
यस्तै, केही स्थानीय स्रोतले वडाध्यक्ष चौहान कार्यालय परिसरमै चुरोट तथा गुट्खा सेवन गर्ने गरेको आरोप समेत लगाएका छन्। यदि यी आरोप पुष्टि भएमा सार्वजनिक पदको गरिमा र कार्यालयीय अनुशासनमाथि प्रश्न उठ्ने उनीहरूको भनाइ छ।
स्थानीय स्रोतका अनुसार वडाध्यक्ष चौहानले कार्यालयीय जिम्मेवारीभन्दा स्थानीय ठेकेदारसँग बढी समय बिताउने, विकास योजनाको कार्यान्वयनमा बिचौलियाको भूमिका खेल्ने तथा बजेट व्यवस्थापनमा अनुचित प्रभाव पार्ने प्रयास गर्ने गरेको आरोप पनि लगाइएको छ। यद्यपि, यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
यसैबीच, वर्षायामका कारण वडा नम्बर–२ का दर्जनौँ घर र करिब ५० बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको स्थानीयको दाबी छ। डुबान प्रभावित नागरिकले आफूहरू समस्यामा परिरहँदा वडाध्यक्षबाट आवश्यक पहल नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार जनप्रतिनिधिले विपद् व्यवस्थापन र राहतका विषयमा सक्रियता देखाउनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिइएको छ।
स्थानीयवासीको भनाइमा वडा नम्बर–२ मा सेवा प्रवाह, जनसुनुवाइ र विकास निर्माणभन्दा व्यक्तिगत स्वार्थले प्राथमिकता पाएको अनुभूति हुन थालेको छ। उनीहरूले गाउँपालिका नेतृत्व तथा सम्बन्धित निकायसँग वडाध्यक्ष चौहानमाथि उठेका गुनासोको निष्पक्ष छानबिन गर्न, सेवा प्रवाहको अवस्थाको मूल्याङ्कन गर्न र वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।
वडाध्यक्षको प्रतिक्रिया आउन बाँकी
यस विषयमा वडाध्यक्ष मुकुट प्रसाद चौहानसँग प्रतिक्रिया लिन प्रयास गरिएको भए पनि उहाँसँग सम्पर्क हुन सकेन। उहाँको मोबाइल फोनमा सम्पर्क हुन नसकेकाले आरोपबारे उहाँको धारणा प्राप्त हुन सकेको छैन। उहाँको प्रतिक्रिया प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।