पकहा मैनपुर (पर्सा), साउन ४ ।
संघीय सांसद सुनिता कुमारी चौधरीले पर्साको पकहा मैनपुर गाउँपालिका–३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयको अनुगमन तथा अवलोकन गर्दै विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

विद्यालय निरीक्षणका क्रममा सांसद चौधरीले छात्रावास निर्माण, विद्यालयको सौन्दर्यीकरण तथा भौतिक पूर्वाधार सुदृढीकरणका लागि आवश्यक बजेट आगामी आर्थिक वर्षको बजेटमा समावेश गराउन पहल गर्ने बताइन्। उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र विकासका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सहयोग जुटाउने विश्वास समेत दिलाइन्।

सांसद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता अकलेश साहको विशेष पहलमा विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको प्रत्यक्ष अवलोकन गर्न आएको उल्लेख गर्दै विद्यालयको विकासका लागि आफू सकारात्मक रहेको धारणा व्यक्त गरिन्।
विद्यालय आगमनका अवसरमा प्रधानाध्यापक मनोज कुमार यादव तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश साहनीले सांसद चौधरीलाई खादा ओढाएर सम्मान गरेका थिए।
सो अवसरमा शिक्षक उपेन्द्र पण्डित र अभय ओझाले विद्यालयको वर्तमान शैक्षिक अवस्था, भौतिक पूर्वाधार, चुनौती तथा आवश्यकताबारे जानकारी गराउँदै विद्यालयको समग्र विकासका लागि आवश्यक सहयोगको आग्रह गरेका थिए।

अनुगमन कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय परिवारले सांसद सुनिता कुमारी चौधरी तथा रास्वपा युवा नेता अकलेश साहप्रति विद्यालयको विकासमा देखाएको चासो, सहयोग र प्रतिबद्धताका लागि आभार व्यक्त गरेको छ।