वीरगञ्ज। वीरगञ्ज महानगरपालिकामा चार वर्षअघि करार सेवाबाट हटाइएका एक पूर्वकर्मचारीको नाममा चालु आर्थिक वर्षको चार महिनाको तलब निकासा गरिएको आरोप सार्वजनिक भएपछि महानगरपालिकाको आर्थिक प्रशासनमाथि प्रश्न उठेको छ।
प्राप्त जानकारीअनुसार हाल निलम्बनमा रहेका नगरप्रमुख राजेशमान सिंहको कार्यकालको सुरुवातमा सेवाबाट हटाइएका ४६ जना करार कर्मचारीमध्ये चौथो तहका कर्मचारी रोशनकुमार कुर्मीको नाममा चैतदेखि असारसम्म ११९ दिन काम गरेको देखाई करिब रु. १ लाख २७ हजार तलब भुक्तानी गरिएको दाबी गरिएको छ।
स्थानीय स्रोतका अनुसार करार सेवा समाप्त भएपछि कुर्मी महानगरपालिकामा कार्यरत नरही वीरगञ्ज महानगरपालिका–१६ मा कोल्ड ड्रिंक्स व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनी उक्त अवधिमा कार्यालयमा उपस्थित नै नभएको दाबी भइरहेका बेला उनको नाममा हाजिरी तयार गरी तलब निकासा गरिएको आरोपले आर्थिक अनियमितताको आशंका बढाएको छ।
स्रोतले यो घटना मात्र नभई महानगरपालिकाभित्र यस्तै प्रकृतिका अन्य भुक्तानीसमेत भएको दाबी गरेको छ। विभिन्न शाखाबाट करार कर्मचारीको हाजिरी तयार गरी प्रशासन शाखामार्फत लेखा शाखामा पठाइने र त्यसपछि भुक्तानी प्रक्रिया अघि बढाइने गरिएको आरोप छ। यस क्रममा लेखापाल अजय साहसँगको मिलेमतोमा भुक्तानी हुने तथा केही प्रकरणमा कमिशनको आधारमा रकम वितरण हुने गरेको आरोपसमेत स्रोतले लगाएको छ।
महानगरपालिकाले हाल दरबन्दी बाहिरका कर्मचारीलाई करार सेवामा नराख्ने नीति अपनाइरहेको अवस्थामा विगतमै सेवाबाट हटाइएका व्यक्तिको नाममा तलब निकासा भएको भनाइ सार्वजनिक भएपछि आर्थिक पारदर्शिता, वित्तीय अनुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ।
यद्यपि, यस विषयमा वीरगञ्ज महानगरपालिकाका सम्बन्धित अधिकारी, लेखापाल अजय साह तथा आरोपित पक्षबाट आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। त्यसैले सार्वजनिक भएका आरोपहरूको सत्यता सम्बन्धित निकायबाट हुने छानबिनपछि मात्रै पुष्टि हुने छ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भए समाचार अद्यावधिक गरिनेछ।