पर्सा, पकाहामैनपुर। पर्साको पकाहामैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा मनोज कुमार यादव पुनः प्रधानाध्यापकको जिम्मेवारीमा फर्किएका छन्।
पकाहामैनपुर गाउँपालिकाको गाउँसभाले २०८३ असार १० गते गरेको निर्णयअनुसार यादवलाई पुनः उक्त विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको हो। यसअघि उनको काज सरुवा श्री संसारीमाई माध्यमिक विद्यालयमा गरिएको थियो।
सोमबार आयोजित एक औपचारिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीले खादा तथा टीका लगाएर यादवलाई स्वागत गर्दै पदभार ग्रहण गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सहनीले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले अनुभवी नेतृत्वको पुनरागमनसँगै विद्यालयको शैक्षिक गुणस्तर थप सुदृढ हुने विश्वास व्यक्त गर्दै शिक्षक, अभिभावक र समुदायलाई विद्यालयको समग्र विकासमा सक्रिय सहभागिताका लागि आग्रह गरे।
पदभार ग्रहणपछि प्रधानाध्यापक यादवले गाउँपालिका, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शिक्षण वातावरण, विद्यार्थीमैत्री तथा सूचना प्रविधिमैत्री शिक्षा, साथै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
उनले शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा समुदायसँग समन्वय र सहकार्य गर्दै विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ इमानदारीपूर्वक काम गर्ने बताए। साथै विद्यालयमा सुशासन, पारदर्शिता, नियमित पठनपाठन र सिकाइ उपलब्धिमा सुधार ल्याउन विशेष योजना बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा सामाजिक अभियन्ता तथा पकाहामैनपुर गाउँपालिका प्रमुखका प्रत्यासी अकलेश कुमार साह, समाजसेवी धधिरेन्द्र चौहान, रंजित साह, बलिराम यादव, राजन साह लगायत विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश कुमार साह, शिक्षक-शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले पनि प्रधानाध्यापक यादवको पुनरागमनसँगै विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। विद्यालय प्रशासनले सबै पक्षको सहकार्यबाट विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।