वीरगञ्ज। आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राख्दै वीरगञ्ज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको समर्थनमा युवाहरूको विशेष भेला सम्पन्न भएको छ। आदर्शनगरस्थित त्रिशला होटलमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाबाट करिब २२० जना युवा अगुवा तथा प्रतिनिधिहरू सहभागी भएको आयोजकले जनाएको छ।
रन्दीप श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीहरूले जेन–जि आन्दोलनले उठाएका मुद्दा र अभियानलाई स्थानीय तहसम्म पुर्याउँदै आगामी निर्वाचनमा सुधीर पटेलको पक्षमा संगठित रूपमा परिचालन हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जेन–जि पर्साका मुख्य सल्लाहकार बिरेन्द्र कण्ठले परिवर्तनका लागि युवाको नेतृत्व र सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। उनले आगामी निर्वाचनमा जनस्तरमै पुगेर परिवर्तनको पक्षमा जनमत निर्माण गर्न युवाहरूलाई आग्रह गरे।
भेलाका वक्ताहरूले वीरगञ्जमा अब नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ र अवसरवादी राजनीतिक संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले विगतमा सीमित समूहको प्रभावमा नेतृत्व चयन हुने परिपाटी दोहोरिन नहुने भन्दै यसपटक मतदाताले परिवर्तनलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे।
कार्यक्रमका उद्घोषक महादेव प्रसाद कुर्मीले जेन–जि आन्दोलनपछि मुलुकमा परिवर्तनको बहस बलियो बनेको उल्लेख गर्दै अब स्थानीय निर्वाचनमार्फत त्यसलाई व्यवहारमा उतार्ने समय आएको बताए। उनले वीरगञ्जलाई पुरानै राजनीतिक प्रभावबाट मुक्त गराउन नगरवासीलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरे।
भेलामा राम आर्य, महमुद अन्सारी, नितेश योगी, मुकेश राउत कुर्मी, सुरेश गुप्ता, सागिर अन्सारी (कावरवाला), अमर सराफ, अमित पटेल, विक्की सराफ, एम.डी. ओसामालगायतले पनि मन्तव्य राख्दै आगामी निर्वाचनमा सुधीर पटेललाई विजयी गराउन युवाहरूबीच एकता, संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रन्दीप श्रीवास्तवले युवा शक्ति नै परिवर्तनको प्रमुख आधार भएको उल्लेख गरे। उनले निर्वाचनलाई लक्षित गरी संगठन विस्तार, घरदैलो अभियान तथा जनसम्पर्क कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाइने जानकारी दिए।