काठमाडौँ । नेपाल र रुसी महासङ्घबीचको ऐतिहासिक मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा बुधबार महत्वपूर्ण छलफल भएको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभ बीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान गरिएको हो।
भेटका क्रममा उपराष्ट्रपति यादवले नेपाल र रुसबीच सन् १९५६ देखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुन लागेको उल्लेख गरे। उनले पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित सम्बन्धलाई नेपालले विशेष महत्वका साथ हेरेको बताए।
उपराष्ट्रपतिले सोभियत सङ्घको समयदेखि नै रुसले नेपाललाई मानव संसाधन विकास, पर्यटन, उद्योग तथा यातायात पूर्वाधार निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै पछिल्लो समय सांस्कृतिक तथा जनस्तरको सम्बन्धसमेत विस्तार हुँदै गएको बताए। उनले आगामी दिनमा नेपाल–रुस सहकार्य अझ व्यापक र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे।
रुसी राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले रुसी जनताको सुख, शान्ति र समृद्धिको कामना पनि गरेका थिए।
यता, रुसी राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ गहिरो र प्रभावकारी बनाउन आफ्नो देश प्रतिबद्ध रहेको बताए। उनले जलविद्युत, कृषि, स्वास्थ्य सेवा तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा नेपाललाई थप सहयोग गर्न रुस इच्छुक रहेको जानकारी दिए।
भेटवार्ताको सबैभन्दा चासोको विषय भने वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानासम्बन्धी प्रस्ताव रह्यो। राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट औपचारिक अनुरोध र आवश्यक विवरण प्राप्त भएमा यी ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरूलाई पुनः सञ्चालनमा ल्याउन रुसी पक्ष पूर्ण रूपमा सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठको पूर्वसन्ध्यामा भएको यो भेटवार्तालाई दुई देशबीचको आर्थिक, औद्योगिक तथा विकास सहकार्यलाई नयाँ गति दिने संकेतका रूपमा हेरिएको छ।