बारा । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं. ५ टेढाकट्टीस्थित सडक करिब दुई वर्षदेखि जीर्ण अवस्थामा रहे पनि सम्बन्धित निकायको ध्यान नपुगेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
दैनिक सयौं सर्वसाधारण, विद्यार्थी, बिरामी तथा यात्रु आवतजावत गर्ने उक्त सडक हिलो, खाल्डाखुल्डी र धुलोले भरिएको छ। सडकको दुर्दशाका कारण स्थानीयले दैनिक सास्ती भोग्न बाध्य छन्। तर सडक मर्मतका लागि वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, प्रदेश सांसद तथा संघीय सांसद कसैले पनि चासो नदिएको आरोप स्थानीयको छ।
स्थानीयका अनुसार निर्वाचनका बेला विकासका ठूला-ठूला आश्वासन दिने जनप्रतिनिधिहरू अहिले सडकको वास्तविक अवस्था हेर्नसमेत नआएको गुनासो बढ्दो छ। सडकको दयनीय अवस्थाले दुर्घटनाको जोखिम बढ्नुका साथै स्थानीयको जनजीवन प्रभावित भएको छ।
यही विषयलाई लिएर युवा गणेश कु साह तेली ले सडक निर्माण तथा मर्मतको माग गर्दै निरन्तर आवाज उठाइरहेका छन्। जनप्रतिनिधिहरू मौन बसेको अवस्थामा एक युवाले स्थानीय समस्यालाई सार्वजनिक रूपमा उठाउन थालेपछि जनस्तरबाट उनको पहलको प्रशंसा भइरहेको छ।
स्थानीयको प्रश्न छ— “कर उठाउने सरकार र विकासको वाचा गर्ने जनप्रतिनिधि कहाँ छन् ? दुई वर्षदेखि सडक बिग्रिँदा पनि किन कसैको ध्यान पुगेन ?”
अब सम्बन्धित निकायले तत्काल सडक मर्मत गरी स्थानीयको समस्या समाधान गर्ने कि जनताको आक्रोश अझै बढ्न दिने भन्ने प्रश्न उठेको छ।