वीरगञ्ज, जेठ २२ — पर्साको पकाहामैनपुर गाउँपालिका अन्तर्गत रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनविरुद्ध दायर गरिएको रिट निवेदन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले खारेज गरेको छ।
शुक्रबार न्यायाधीशद्वय गोकर्ण डाँगी र पूर्णनेश्वर प्रसाद उपाध्याय को संयुक्त इजलासले रिट खारेज गर्ने फैसला सुनाएसँगै नवगठित विद्यालय व्यवस्थापन समितिले कानुनी वैधता प्राप्त गरेको हो।
अदालतको निर्णयपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनी को नेतृत्वमा रहेको समितिले पूर्ण अधिकारसहित आफ्नो कार्यसम्पादन अघि बढाउने बाटो खुलेको छ।
विद्यालय व्यवस्थापन समिति गठनलाई लिएर केही समयदेखि विवाद उत्पन्न भएको थियो। उक्त विवादले राजनीतिक रंगसमेत लिन थालेको अवस्थामा अदालतको आदेशले कानुनी तथा प्रशासनिक अन्योल अन्त्य गरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको समितिविरुद्ध दायर गरिएको रिटमा पर्याप्त कानुनी आधार नदेखिएपछि अदालतले निवेदन खारेज गरेको जनाइएको छ।
अध्यक्ष राजेश सहनीले अदालतको निर्णयलाई “सत्य, कानुन र संस्थागत प्रक्रियाको जित” भएको प्रतिक्रिया दिएका छन्। उनले विद्यालयको समग्र विकास, विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि तथा अभिभावकको विश्वास कायम राख्न समिति प्रतिबद्ध रहेको बताए।
अदालतको पछिल्लो आदेशले शिक्षा क्षेत्रलाई अनावश्यक राजनीतिक विवादबाट टाढा राख्नुपर्ने सन्देश दिएको स्थानीयवासीहरूको भनाइ छ। रिट खारेज भएसँगै अब विद्यालय व्यवस्थापन समितिले आफ्नो कार्ययोजना कार्यान्वयन गर्दै विद्यालयको विकासका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।