काठमाडौं । सरकारले भूमि समस्या समाधानका लागि गठन गरिएको आयोगमा नयाँ नेतृत्व चयन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका बलभद्र बास्तोलालाई भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आयोगका सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, डा. रोना श्रेष्ठ तथा लमजुङका पद्मनीति सोती नियुक्त भएका छन्। सरकारले अव्यवस्थित बसोबास, सुकुम्बासी तथा भूमि व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरेको जनाएको छ।
बैठकले यससँगै विभिन्न प्रशासनिक, सुरक्षा तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ।
मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू :
🔹 भूमि समस्या समाधान आयोगमा नियुक्ति
- बलभद्र बास्तोला (कास्की) अध्यक्ष नियुक्त
- अमिरप्रसाद न्यौपाने, डा. रोना श्रेष्ठ र पद्मनीति सोती सदस्य नियुक्त
🔹 अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत
- ओजोन तहलाई क्षति पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी Montreal Protocol कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) अन्तर्गतको सम्झौता स्वीकृत।
🔹 सशस्त्र प्रहरीमा बढुवा
- सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय।
🔹 अध्ययन समितिको म्याद थप
- २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी अध्ययन तथा सिफारिस गर्न बनेको समितिको कार्यावधि थप ४५ दिन बढाउने निर्णय।
सरकारले यी निर्णयहरू प्रशासनिक सुधार, सुरक्षा संयन्त्रको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयनलाई केन्द्रमा राखेर गरेको जनाएको छ।