वीरगञ्ज । नागरिकता तथा सरकारी लिखतसम्बन्धी अघि बढिरहेका बेला वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्राप्त जानकारीअनुसार, मेयर सिंहविरुद्ध जारी पक्राउ पुर्जीबारे कानुनी प्रक्रिया बुझ्न सोमबार बिहान पर्सा जिल्ला अदालत पुगेका स्वकीय सचिव घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा पुर्याएको हो। मेयर पक्षका अनुसार घिमिरे अदालतमा कानुनी परामर्श र प्रक्रियाबारे जानकारी लिन पुगेका थिए।
यता जिल्ला प्रहरी कार्यालय पर्साले भने मेयर सिंहसम्बन्धी अनुसन्धानका विषयमा आवश्यक बुझाइका लागि घिमिरेलाई ल्याइएको जनाएको छ।
यसअघि पर्सा जिल्ला अदालतले नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि गत जेठ १२ गते मेयर सिंह, उनकी कान्छी पत्नी रिता भट्टराई तथा वीरगञ्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएको भोलिपल्ट मेयर सिंह स्वयं अदालतमा उपस्थित भएका थिए। सञ्चारमाध्यममार्फत पक्राउ पुर्जीबारे जानकारी पाएपछि न्यायिक प्रक्रियामा सहयोग गर्न आफू अदालत पुगेको उनको भनाइ थियो। तर मुद्दाको चापका कारण त्यसदिन सुनुवाइ हुन नसक्ने जानकारी अदालत प्रशासनबाट पाएपछि उनी फर्किएका थिए।
यो प्रकरण २०८० साल माघमा वीरगञ्ज–३ का लियाकत अलीले दिएको उजुरीबाट सुरु भएको हो। उजुरीमा मेयर सिंहमाथि सरकारी कागजात र नागरिकता किर्तेसम्बन्धी आरोप लगाइएको थियो। सोही आधारमा अनुसन्धान अघि बढ्दै जाँदा विभिन्न मुद्दा दर्ता भएका छन्।
सरकारी वकिलको कार्यालय र अदालत स्रोतका अनुसार हाल नागरिकता तथा लिखतसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ भने मेयर सिंहविरुद्धको कानुनी घेरा थप कसिलो बन्दै गएको देखिएको छ।