वीरगञ्ज । पर्सा–१ का प्रतिनिधिसभा सदस्य माननीय बुद्धि प्रसाद (हरि) पन्तको नाम र तस्वीर जोडेर सामाजिक सञ्जाल Routine of Madhesh Pradesh लगायत केही अनलाइन प्लेटफर्ममा प्रसारित सामग्रीप्रति हरि पन्तको सचिवालयले कडा आपत्ति जनाएको छ।
सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक गरिएको सामग्री तथ्यहीन, भ्रामक र नियोजित रूपमा चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार अनलाइनमा जोडिएका व्यवसाय तथा संस्थासँग माननीय पन्तको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
“प्रमाणविना व्यक्तिको नाम र सार्वजनिक छवि दुरुपयोग गर्दै भ्रम फैलाउने काम कानुनविपरीत हो,” विज्ञप्तिमा उल्लेख छ।
सचिवालयले यस्ता गतिविधिले माननीय पन्तको सामाजिक प्रतिष्ठा र राजनीतिक छविमा आघात पुर्याउने नियत देखिएको जनाएको ।
साथै, सम्बन्धित सामग्री तत्काल हटाउन, गलत सूचना प्रसारण बन्द गर्न र सार्वजनिक रूपमा माफी माग्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिइएको छ।
विज्ञप्तिमा नेपालका प्रचलित कानुन, विद्युतीय कारोबार ऐन तथा मुलुकी अपराध संहिताअनुसार दोषी व्यक्ति, संस्था र माध्यमविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जानकारी पनि दिइएको छ।
साथै सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यमलाई अपुष्ट सूचना शेयर नगर्न तथा जिम्मेवार पत्रकारिता गर्न आग्रह गरिएको छ।