फाल्गुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नयाँ आशा र विश्वास
वीरगञ्ज । यही फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट श्री सुशील कुमार कानुलाई उम्मेदवारका रूपमा टिकट सुनिश्चित गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार कानुलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको हो।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्षसमेत रहेका कानु स्थानीय तहमा सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्वका लागि परिचित व्यक्तित्व मानिन्छन्। जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्ने शैली, विकासप्रति प्रतिबद्धता र स्वच्छ राजनीतिमा विश्वास राख्ने नेताका रूपमा उनीप्रति आम नागरिकको भरोसा रहेको बताइन्छ।
रास्वपाले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले इमानदार, सक्षम र जनमुखी प्रतिनिधि चयन गर्ने नीति अनुसार कानुलाई उम्मेदवार बनाएको पार्टी स्रोतको भनाइ छ। पार्टी नेतृत्वले पर्सा–२ मा परिवर्तनको चाहना बलियो रहेको र कानुको उम्मेदवारीले त्यसलाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरेको छ।
टिकट सुनिश्चित भएसँगै पर्सा–२ मा राजनीतिक गतिविधि थप चर्किएको छ। समर्थक तथा शुभेच्छुकहरूले कानुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनमा विजयी गराउने प्रतिबद्धता जनाइरहेका छन्। स्थानीय युवाहरू, व्यापारी वर्ग तथा सचेत नागरिक समाजले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको देखिन्छ।
आफ्नो उम्मेदवारीबारे प्रतिक्रिया दिँदै सुशील कुमार कानुले जनताको विश्वासलाई इमानदार ढंगले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “पर्सा–२ का जनताको आवाज संसदमा पुर्याउने, भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने र विकास तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने मेरो लक्ष्य हो,” उनले भने।
रास्वपाको तर्फबाट सुशील कुमार कानुलाई टिकट सुनिश्चित भएसँगै पर्सा–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। परिवर्तन चाहने मतदाताहरूका लागि उनको उम्मेदवारी महत्वपूर्ण विकल्पका रूपमा हेरिएको छ।