वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वमन्त्री तथा प्रभावशाली नेता प्रदीप यादवले पार्टीसँगको राजनीतिक सम्बन्ध टुंग्याउने निर्णय लिएका छन्। पार्टीको केन्द्रीय समितिमा आफूलाई स्थान नदिइनुका साथै लामो समयदेखि जित्दै आएको निर्वाचन क्षेत्रबाट आगामी चुनावमा टिकट नपाउने अवस्था देखिएपछि यादवले यस्तो निर्णय लिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार जसपा नेपालको पछिल्लो केन्द्रीय समिति पुनर्गठन तथा आगामी निर्वाचन रणनीतिका क्रममा यादवलाई योजनाबद्ध रूपमा साइडलाइन गरिएको महसुस भएपछि उनी पार्टी नेतृत्वसँग असन्तुष्ट बनेका हुन्। निरन्तर जनाधार रहेको क्षेत्रबाट टिकट खोसिने संकेत पाएपछि यादवले वैकल्पिक राजनीतिक बाटो रोज्ने निर्णय गरेको बुझिएको छ।
पूर्वमन्त्री यादव मधेस केन्द्रित राजनीतिमा स्थापित र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनले प्रतिनिधित्व गर्दै आएको निर्वाचन क्षेत्रमा पटक–पटक जित हासिल गर्दै आएका छन्। पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको अनुभव हुँदाहुँदै पनि केन्द्रीय समितिमा स्थान नपाउनु अपमानजनक भएको महसुस यादव निकटवर्तीहरूको भनाइ छ।
यही असन्तुष्टिको पृष्ठभूमिमा यादव नेकपा (एमाले) प्रवेशको तयारीमा जुटेको स्रोतले जनाएको छ। एमालेका शीर्ष नेताहरूसँग प्रारम्भिक छलफल भइसकेको र उचित समय हेरेर औपचारिक प्रवेश गरिने तयारी भइरहेको बताइएको छ। यदि यादव एमाले प्रवेश गर्छन् भने मधेस राजनीतिमा शक्ति सन्तुलन फेरिने राजनीतिक विश्लेषकहरूको आकलन छ।
यद्यपि, यस विषयमा यादवले औपचारिक रूपमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। जसपा नेपालका शीर्ष नेतृत्वले पनि यादवको सम्भावित पार्टी परित्याग र एमाले प्रवेशबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
राजनीतिक वृत्तमा भने यादवको यो कदमले जसपा नेपालभित्र थप असन्तुष्टि जन्माउन सक्ने र आगामी निर्वाचनमा पार्टीलाई संगठनात्मक रूपमा असर पार्न सक्ने चर्चा चुलिएको छ। साथै, एमालेले मधेसमा आफ्नो पकड बलियो बनाउन यादवजस्ता प्रभावशाली नेतालाई स्वागत गर्ने रणनीति बनाएको बताइन्छ।
अब पूर्वमन्त्री यादवको औपचारिक घोषणा र पार्टी परिवर्तनको समयतालिका सार्वजनिक भएपछि मात्रै राजनीतिक परिदृश्य थप स्पष्ट हुने देखिएको छ।