वीरगञ्ज २२ - पूर्वमन्त्री तथा मधेसका प्रभावशाली नेता प्रदीप यादवले धर्म, जात वा समुदायका नाममा समाजलाई विभाजन गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्दै सबै पक्षलाई संयमता, आपसी सम्मान र सद्भाव कायम गर्न आग्रह गर्नुभएको छ।
वीरगञ्जमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै पूर्वमन्त्री यादवले भन्नुभयो, “वीरगञ्ज सधैंदेखि बहुजातीय, बहुधार्मिक र सहिष्णु सहर हो। यहाँ हिन्दु, मुस्लिम, बौद्ध, सिख सबै समुदाय आपसी विश्वास र सहकार्यका साथ बस्दै आएका छन्। धर्म वा जातभन्दा माथि उठेर एक–अर्काको सम्मान गर्नु नै आजको सबैभन्दा ठूलो आवश्यकता हो।”
उहाँले केही घटनाका कारण समग्र समुदायलाई दोषारोपण गर्ने प्रवृत्ति खतरनाक रहेको उल्लेख गर्दै यस्तो सोचले समाजमा अविश्वास र द्वन्द्व बढाउने चेतावनी दिनुभयो। “कुनै एक व्यक्तिको गल्तीका कारण सम्पूर्ण समुदायलाई अपराधीकरण गर्नु गलत हो। यस्ता गतिविधिबाट टाढा रहन सबैलाई म आग्रह गर्दछु,” उहाँले भन्नुभयो।
पूर्वमन्त्री यादवले वीरगञ्जको शान्ति र सद्भाव बिगार्न चाहने तत्वहरू सक्रिय हुन सक्ने भन्दै सुरक्षा निकाय र प्रशासनलाई निष्पक्ष, संयमित र कानुनअनुसार काम गर्न आग्रह गर्नुभयो। साथै, सर्वसाधारणलाई अफवाहमा नपर्न र सामाजिक सञ्जालमा भ्रामक सूचना नफैलाउन पनि अनुरोध गर्नुभयो।
उहाँले धार्मिक तथा सामाजिक अगुवाहरूको भूमिकालाई विशेष महत्त्व दिँदै भने, “समाजका अगुवा, बुद्धिजीवी, युवा र सञ्चारकर्मीहरूले संयमता अपनाउँदै शान्ति र सद्भावको सन्देश फैलाउनुपर्छ। संवाद, सहकार्य र आपसी समझदारीबाट मात्र समस्याको समाधान सम्भव हुन्छ।”
अन्त्यमा पूर्वमन्त्री यादवले वीरगञ्जवासीलाई शान्ति कायम गर्न प्रशासनलाई सहयोग गर्न आग्रह गर्दै भन्नुभयो, “हामी सबै वीरगञ्जवासी एउटै समाजका सदस्य हौं। आपसी सद्भावलाई अझ बलियो बनाउँदै शान्तिपूर्ण सहअस्तित्वको उदाहरण प्रस्तुत गरौं।”