वीरगन्ज २१ सोमबार - धनुषा जिल्लामा मस्जिद तोडफोड तथा पवित्र कुरान जलाइएको घटनाको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएपछि वीरगन्ज महानगरपालिकाको मुख्य तथा संवेदनशील सहरी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा आदेश जारी गरेको हो।
प्रशासनका अनुसार धनुषाको घटनाविरुद्ध मुस्लिम समुदायको अगुवाइमा वीरगन्जमा गरिएको विरोध प्रदर्शन क्रमशः उग्र बन्दै जाँदा सार्वजनिक सुरक्षा र शान्ति व्यवस्थामा गम्भीर चुनौती उत्पन्न भएको थियो। प्रदर्शनका क्रममा विभिन्न स्थानमा नाराबाजी, सडक अवरोध, तोडफोड तथा प्रहरीसँग झडपको अवस्था सिर्जना भएपछि प्रशासनले निषेधाज्ञा लागू गर्न बाध्य भएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार वीरगन्जको मुख्य बजार क्षेत्र, सरकारी कार्यालय वरपर, धार्मिक स्थल आसपास तथा भीडभाड हुने स्थानहरूलाई संवेदनशील क्षेत्र घोषणा गरिएको छ। निषेधाज्ञा अवधिभर ती क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने, जुलुस, प्रदर्शन, सभा, घेराउ तथा कुनै पनि किसिमका उग्र गतिविधि गर्न रोक लगाइएको छ। साथै हतियार, लाठी, ढुंगा, पेट्रोल बमजस्ता वस्तु बोकेर हिँडडुल गर्नसमेत पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही स्थानमा बल प्रयोग गर्नुपरेको प्रशासनले जनाएको छ। सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संवेदनशील क्षेत्रमा व्यापक रूपमा परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले आम नागरिकलाई शान्ति, सहकार्य र संयमता अपनाउन आग्रह गर्दै अफवाहको पछि नलाग्न अनुरोध गरेको छ। साथै कानुन विपरीतका गतिविधिमा संलग्न हुने जो–कोहीलाई कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
प्रशासनले स्थिति सामान्य नहुँदासम्म निषेधाज्ञा कायमै रहने संकेत दिएको छ। स्थानीय बासिन्दाले भने शान्ति सुरक्षाको प्रत्याभूति गर्दै समस्या समाधानका लागि संवाद र सहमतिमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।