बिरगंज -परिवारले उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै राखिएको छ । बहुदरमाई नपा–४ डोकेला बहुअरीका ५५ वर्षीय महेन्द्र राउत अहिरको शव वीरगंज गण्डकस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलको फ्रीजमा राखिएको मृतकका भतिजा रमेश यादव बताएका छन् ।
गत असोज २८ गते साँझ ५ बजे डोकैला चोकमा पैदल हिंडिरहेको बेला बहुदरमाई नपा–१ ध्यानसिंह पिपरा बस्ने मन्देश साह तुरहा सवार मोटरसाइकले निजलाई ठक्कर दिएको थियो । तीनजना सवार मोटरसाइकलको ठक्करपछि मृतकको शरीरमा ठोकिएको थियो । त्यसपछि उनी गम्भीर घाइते भई विगत १७ दिनदेखि अस्पतालमा उपचारार्थ भर्ना थिए ।
निजको टाउकोको शल्यक्रिया गरी उपचार गर्दा समेत उनको मृत्यु हुन गएको मृतकका आफन्तजन बताउँछन् । ठक्कर दिने तुरहाले डेढ लाख उपचार खर्च र परिवारजनले गरी हालसम्म दुई लाख मात्रै अस्पतालमा जम्मा गरिएको छ । तर अस्पतालमा कुल नौ लाख उपचार खर्च भएको अस्पताल प्रशासनले बताउँछ ।
मृतकको परिवारजनको आर्थिक अवस्था निकै कमजोर रहेकोले आफन्तजनले सहयोग गर्दा जम्मा डेढ लाख मात्रै पुगिरहेको बताइएको छ । परिवारजनले पर्सा प्रहरीलाई तुरहालाई तत्काल पक्राउ गरी उपचार खर्च र क्षतिपूर्ति दिलाउन पहल गरिदिन अपील गरेका छन् ।
यसै विषयमा अस्पतालको प्रशासन शाखाका विष्णु पटेलसँग बुझ्दा उनले अस्पतालले कानूनीरूपमा उपचार खर्च परिवारजनले बेहोर्ने गरी मन्जुरीनामा बनाइ सहीछाप भएपछि मात्र उपचार शुरू गरेको बताए । उपचार खर्च नतिर्दासम्म अस्पतालले शव फिर्ता नदिने बताएका छन् ।
मृतकको एक श्रीमती र एक पुर्ण अपांग छोरा रहेको छ । घरको आर्थिक स्थिति निकै कमजोर रहेको परिवारजनले जनाएका छन्।
यश बिसयमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेल संग बुझ्दा ठक्कर दिने ब्यक्ती फरार रहेकोले उनीहरूको खोजी कार्य तीब्र रुपमा भईरहेको जनाएको छ ।