वीरगन्ज । नेपाल–भारत सीमामा रहेको एकीकृत जाँच चौकी (आईसीपी) रक्सौलमा दुई देशका जिल्लास्तरीय सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको संयुक्त समन्वय समिति बैठक सम्पन्न भएको छ।
सीमा सुरक्षा बल (एसएसबी)का उच्च अधिकारीको निरीक्षण भ्रमणपश्चात् आयोजित उक्त बैठकले विशेष गरी नागरिकको आवतजावतमा कडाइपूर्वक जाँच गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।
एसएसबी सीमान्त मुख्यालय, पटनाका महानिरीक्षक (आईजी) नशीथ कुमार उज्जवलले दुईदिने निरीक्षण भ्रमण सम्पन्न गरेपछि आईसीपीमा आयोजित यो महत्त्वपूर्ण बैठकको नेतृत्व गरेका थिए।
उक्त समन्वय बैठकमा नेपाल र भारतका उच्चस्तरीय अधिकारीहरूको सहभागिता थियो नेपालतर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सशस्त्र प्रहरी बल (एपीएफ)का डीआईजी अञ्जनीकुमार पोखरेल, नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू तथा अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए।
त्यसैगरी भारततर्फबाट पूर्वी चम्पारणका प्रमुख जिल्ला अधिकारी सौरभ जोरवाल, एसएसबी क्षेत्रीय मुख्यालय बेतियाका उपमहानिरीक्षक एस। सुब्रमण्यम, ४७औँ वाहिनी एसएसबी रक्सौलका कमाण्डेन्ट संजय पाण्डेय, मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभात लगायत अन्य अधिकारीहरू सहभागी थिए।
बैठकअघि महानिरीक्षक उज्जवलले ४७औँ वाहिनी मुख्यालय र पन्टोका सीमा चौकीको निरीक्षण गर्दै ‘गार्ड अफ अनर’ ग्रहण गरेका थिए। सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सीमामा खटिएका बलका जवानहरूलाई महत्त्वपूर्ण निर्देशन दिए।
उनले सीमाबाट आवतजावत गर्ने नागरिकहरूको पहिचानसहित चेकजाँच कडाइका साथ गर्न निर्देशन दिएका छन्।
बैठकमा आगामी बिहार विधान सभा चुनावलाई मध्यनजर गर्दै सीमा सुरक्षाको तयारी, तस्करी नियन्त्रण तथा सीमावर्ती सुरक्षासम्बन्धी विभिन्न विषयहरूमा गम्भीर छलफल भएको जनाइएको छ।