राकेश साह गोढ
वीरगञ्ज, २४ असार
कमजोर सुरक्षा व्यवस्था, अस्थिर राजनीति र खुल्ला सिमानाका कारण तस्कर गिरोहले वीरगञ्जलाई आफ्नो कृडास्थल बनाउन थालेका छन् । पर्सामा जिल्लास्तरबाट हुने लागूऔषध, भन्सार छलेर भारतबाट ल्याउने लत्ता कपडा, खाद्यान्न, जिरा, काजु, मरिच, प्याज, भाडा वर्तन तस्करी हुनु कुरा नौलो होइन । तर अहिले राजनैतिक परिवेश बदलिनुसँगै तस्करीको प्रयोग पनि नयाँ ढंगबाट सेटिङ मै सबै कुरा प्रहरी, प्रशासन, भन्सार, मन्त्री सबै मिलेको पाइएको छ । सीमावर्ती भारतीय बजार रक्सौलका कपडा व्यवसायीले क्यारिङकै माध्यमबाट कुर्ता–सुरुवाल, सर्टिङसुर्टिङका कपडा, जिरा, काजु, मरिच वीरगञ्ज भन्सारको मुल बाटो हुँदै नेपालको हेटौडा, नारायणघाट, पोखरा र काठमाडौँजस्ता ठुला बजारमा पठाउने गरेका छन् ।
शान्ति सुरक्षाका लागि रहेको नेपाल प्रहरी र सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी छन् । तर दुबै संगठनले आफ्नो दायित्व पूरा गर्न छाडेर नाका खुकुलो पारेर तस्करीका सामान भित्र्याउन सहज बनाइदिने गर्छन् । प्रहरी अधिकारीहरुले आफ्ना घुमुवा मार्फत तस्करहरुको पहिचान गर्ने र दलालमार्फत तस्करीको लाइन खुलाउन पैसा असुली गर्ने गरेको स्रोतले जनाएको छ । तर मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले अहिले गलत गतिविधि गर्नेलाई धमाधम कारवाही गर्न थालेका छन् । डिआईजी भट्टराईको निर्देशनमा असार २० गते राती इनर्वा गाउँँ पछाडि भण्डारण गरी राखिएको अवैध मालसामान नियन्त्रणमा लिएको थियो ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख विदुर शिवाकोटीको मातहतमा पर्ने इनर्वा प्रहरी चौकी र प्रहरी चौकी इनर्वा गाउँका प्रहरी प्रमुखहरुले अवैध मालसामान ओसार पसार गर्ने गिरोहहरुसँग मासिक नजराना बुझि ती सामानहरु भारतबाट वीरगञ्ज भित्र्याउन सहजकर्ताको भूमिका खेल्ने गर्थे । तर डिआईजी भट्टराईले त्यस्ता गलत क्रियाकलाप गर्ने माथि अंकुश लगाउँँदै आएका छन् । तर डिआईजी भट्टराईको यस्तो क्रियकलापले यतिखेर पर्सा प्रहरीलाई टाउको दुखाईको विषय बनेको छ । विभिन्न अवैध काम गर्नेहरुसँग पर्सा प्रहरीले मासिक नजराना बुझिसकेपछि डिआईजीको टोलीले उक्त सामान धमाधम पक्राउ गर्नाले टाउको दुखाईको विषय बनेको हो । विचौलिया मार्फत कपडा, काजु, मरिच, मोटरपार्टस् लगायतका तस्करहरुले प्रहरीलाई मासिक रुपमा बुझाएको नजराना फिर्ता माग्न दवाब दिइरहेको श्रोतको दाबी छ ।