काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ६ गते (नोभेम्बर २२) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो भारत भ्रमण हुनेछ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट तथा औपचारिक वार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ। सोही दिन नेपाल–भारतबीच उच्चस्तरीय द्विपक्षीय छलफलसमेत हुनेछ।
परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयबीचको समन्वयमा भ्रमणको तयारी भइरहेको बताइएको छ। भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि छलफलमा रहेका सीमा सुरक्षा, सीमा विवाद, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास तथा हवाई रुटका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
त्यस्तै, भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि भारतको सहयोगबारे पनि छलफल हुने जनाइएको छ। खेलकुद, विशेषगरी नेपाली क्रिकेटको विकासमा भारतीय सहयोग जुटाउने विषयलाई समेत प्रधानमन्त्री शाहले प्राथमिकतामा राख्ने तयारी गरेका छन्। युवा लक्षित कार्यक्रमका लागि सहयोग गर्न पनि उनले भारतीय पक्षसँग आग्रह गर्ने बताइएको छ।
जनकपुर–अयोध्या रेल सञ्चालनको तयारी
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई थप महत्त्वपूर्ण बनाउने अर्को विषय जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन हो। भारतीय रेल्वे मन्त्रालयले उक्त रेल सेवा सञ्चालनका लागि स्वीकृति दिएको स्रोतको दाबी छ।
भ्रमणकै अवसरमा मंसिर ७ गते प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ। यसले धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध र दुई देशबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
बालेन प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले उनलाई भारत भ्रमणको निम्तो दिएका थिए। तर नेपालको आन्तरिक राजनीतिक तथा प्रशासनिक व्यस्तताका कारण भ्रमणको मिति तय हुन सकेको थिएन। हालै भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण र प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि भारत भ्रमणको मिति निश्चित भएको बताइएको छ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक संवाद, आर्थिक सहकार्य र क्षेत्रीय कनेक्टिभिटी विस्तारको दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।