काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनको भन्सार महसुल दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएसँगै नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सरकारले बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महसुल दोब्बर बनाएपछि यसको प्रत्यक्ष प्रभाव बजार मूल्यमा परेको व्यवसायीहरूको भनाइ छ। नयाँ भन्सार दर लागू भएसँगै आयात लागत बढेकाले सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
सुनको मूल्यमा आएको यो वृद्धि हालसम्मकै उच्चमध्ये एक मानिएको छ। भन्सार दर बढाइएपछि बजारमा सुन खरिद गर्ने उपभोक्ताहरू थप प्रभावित भएका छन् भने व्यवसायीहरू पनि नयाँ मूल्यअनुसार कारोबार व्यवस्थापनमा जुटेका छन्।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको थियो। यसअनुसार चाँदीको मूल्यमा प्रतितोला ३०५ रुपैयाँ वृद्धि भएको छ।
सरकारले राजस्व संकलन बढाउने उद्देश्यले सुनको भन्सार दर वृद्धि गरेको भए पनि यसले बजारमा मूल्यवृद्धिको दबाब सिर्जना गरेको छ। सुन तथा चाँदीका गहना खरिद गर्ने उपभोक्ता र विवाह–ब्रतबन्ध जस्ता सामाजिक कार्यक्रमको तयारीमा रहेका सर्वसाधारणलाई यसको प्रत्यक्ष असर पर्ने देखिएको छ।
बजेट घोषणापछि सुन बजारमा देखिएको यो असामान्य मूल्यवृद्धिले आगामी दिनमा बजारको माग, आपूर्ति तथा कारोबारको अवस्थामा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।