वीरगञ्ज । फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का लोकप्रिय वडाध्यक्ष सुसिल कुमार क़ानूलाई उम्मेदवार चयन गरेको छ।
पार्टी स्रोतका अनुसार रास्वपाले हिजो राति औपचारिक निर्णय गर्दै क़ानूलाई सो क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट प्रदान गरेको हो। स्थानीय तहमा सुशासन, पारदर्शिता र जनमुखी काममार्फत परिचित बनेका क़ानूलाई उम्मेदवार बनाइएसँगै पर्सा–२ मा चुनावी माहोल थप तातेको छ।
रास्वपाभित्रको बालेन साह र रवि लामिछाने समूहको समर्थनमा क़ानूले टिकट पाएको बताइएको छ। यसले पार्टीभित्रको संगठनात्मक एकता र वैकल्पिक राजनीतिक धारलाई थप बल मिलेको विश्लेषण गरिएको छ। युवा, व्यवसायी, मध्यम वर्ग र परिवर्तन चाहने मतदाताको समर्थन क़ानूले पाउने अपेक्षा गरिएको छ।
स्थानीय स्तरबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्न लागेका सुसिल कुमार क़ानूले वीरगञ्जको विकास, रोजगारी सिर्जना, सुशासन र सीमावर्ती क्षेत्रका समस्या संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता जनाउँदै आएका छन्। वडाध्यक्षको रूपमा उनले गरेका कामले नै उनलाई राष्ट्रिय राजनीतिका लागि उपयुक्त उम्मेदवार बनाएको समर्थकहरूको भनाइ छ।
यसैबीच, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र रास्वपाका सभापति रवि लामिछाने पनि वीरगञ्ज आउने तयारीमा रहेको जानकारी प्राप्त भएको छ। उनीहरूको आगमनसँगै चुनावी प्रचारले थप गति लिने र रास्वपाको शक्ति प्रदर्शन हुने अनुमान गरिएको छ।
रास्वपाले पुराना दलहरूको परम्परागत राजनीतिभन्दा फरक, नयाँ सोच र नयाँ नेतृत्वमार्फत परिवर्तन सम्भव हुने सन्देश दिन खोजेको देखिन्छ। पर्सा–२ बाट सुसिल कुमार क़ानूको उम्मेदवारीलाई सोही रणनीतिको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।
अन्त्यमा, प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका सुसिल कुमार क़ानूलाई अग्रिम बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ। उनका समर्थकहरूले परिवर्तनको यात्रामा वीरगञ्जबाट नयाँ इतिहास कोरिने विश्वास व्यक्त गरेका छन्।