बाँके । बाँकेको डुडुवा गाउँपालिका–४ मा १६ वर्षीया दलित समुदायकी एक नाबालिग छात्रामाथि सामूहिक यौनहिंसा भएको गम्भीर आरोप सार्वजनिक भएको छ। कक्षा ९ मा अध्ययनरत ती छात्रालाई केही व्यक्तिहरूले अपहरण गरी यौनहिंसा गरेको पीडित परिवारको दाबी छ।
पीडित पक्षका अनुसार सब्दाम खान, मैन्यूदिन खान, समीर खान, फिरोज खान र साहिद खान घटनामा संलग्न रहेका छन। यद्यपि, उक्त आरोपहरू हाल अनुसन्धानकै चरणमा रहेका छन र सम्बन्धित निकायबाट आधिकारिक निष्कर्ष आउन बाँकी छ।
पीडित परिवारले प्रहरीमा उजुरी दिन जाँदा मुद्दा दर्ता नगर्न दबाब दिइएको आरोपसमेत लगाएको छ। उनीहरूका अनुसार पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता मोहम्मद इस्तियाक राई र स्थानीय वडा अध्यक्ष सगीर खाँले मिलापत्रका लागि दबाब दिएका थिए। यस विषयमा आरोपित भनिएका व्यक्तिहरूबाट भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
नाबालिग तथा दलित समुदायकी छात्रामाथि यौनहिंसाको आरोप सार्वजनिक हुनु र त्यसपछि न्यायिक प्रक्रियामै अवरोध आएको दाबी हुनुले राज्यको संरक्षण प्रणाली र कानुनी कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको देखिन्छ।
महिला, दलित तथा मानव अधिकारसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले पीडितको सुरक्षा, मनोसामाजिक सहयोग, निष्पक्ष र स्वतन्त्र अनुसन्धानको माग गरेका छन्। दोषी प्रमाणित भए कानुनअनुसार कडा सजाय हुनुपर्ने उनीहरूको जोड छ। राजनीतिक वा सामाजिक प्रभावका कारण घटनालाई दबाउने प्रयास भए त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन।
पीडितको पहिचान गोप्य राख्दै बाल अधिकार ऐन, मुलुकी फौजदारी संहिता तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार छिटो, पारदर्शी र निष्पक्ष छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। कानुनी शासनको विश्वसनीयता कायम राख्न कुनै पनि दबाबबिना सत्यतथ्य बाहिर ल्याउन सरोकारवालाहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन।