बिरगंज महानगरपालिका–१५ निवासी सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय युवा नेता बिमल पौडेललाई नारायणी अस्पताल विकास समितिको सदस्यमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयद्वारा मनोनीत गरिएको छ। उनले आगामी तीन वर्षसम्म अस्पताल विकास समितिमा सदस्यको जिम्मेवारी बहन गर्नेछन्।
पूर्व माओवादी पृष्ठभूमिमा राजनीति थालेका पौडेल अहिले नेकपा एमाले निकट पूर्व युवा संघ नेपालका पर्सा जिल्ला इन्चार्ज रहिसकेका छन्। त्यसैगरी, उनले नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव र मधेस प्रदेश सह-इन्चार्ज को जिम्मेवारी पनि सफलतापूर्वक सम्हालेका थिए।
हाल उनी नेकपा एमाले पर्सा जिल्ला सचिवालय सदस्यको रुपमा सक्रिय छन् र विभिन्न सामाजिक गतिविधिहरूमा निरन्तर संलग्न रहेका छन्। जनस्तरमा उनी पर्सा जिल्लाका युवाबीच लोकप्रिय र प्रभावशाली नेताको रुपमा चिनिन्छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई नारायणी अस्पताल सुधारका लागि सक्षम व्यक्ति मान्दै उनलाई मनोनीत गर्न सिफारिस गरेका थिए। सरकारको तर्फबाट पौडेलको समर्पण, सक्रियता र सामाजिक क्षेत्रमा दिएको योगदानलाई उच्च मूल्यांकन गर्दै नारायणी अस्पतालको व्यवस्थापन, सेवा सुधार र समग्र पूर्वाधार विकासमा महत्वपूर्ण प्रभाव पर्ने अपेक्षा गरिएको छ।
वीरगञ्जका स्वास्थ्य तथा सामाजिक क्षेत्रका सरोकारवाला निकायहरूले पौडेलको मनोनयनलाई खुलेर स्वागत गरेका छन्। अस्पतालमा पारदर्शी, जनमुखी र परिणाममुखी सेवा प्रणाली निर्माण गर्न उनले नेतृत्वदायी भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीय समुदाय, नागरिक समाज, युवाहरु र स्वास्थ्यकर्मीहरूले पौडेलको अनुभव र इच्छाशक्तिले अस्पतालको सेवा गुणस्तरमा आमूल परिवर्तन ल्याउने आशा व्यक्त गरेका छन्।
बिमल पौडेलको यो मनोनयन नारायणी अस्पतालको व्यवस्थापन सुधारका लागि महत्त्वपूर्ण कदमको रुपमा हेरिएको छ। स्वास्थ्य सेवा आम नागरिकको जीवनस्तर सुधारको आधारभूत पक्ष भएकाले उनको कार्यकालमा अस्पतालले गुणस्तरीय, पहुँचयुक्त र उत्तरदायी सेवा दिन सफल हुने विश्वास धेरैले व्यक्त गरेका छन्।